काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजी बनाइएको तर निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिने काम भएको बताए।
निर्णय गर्नेलाई उन्मुक्ति दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उनले बताए। यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने उनको तर्क छ। शाहीले प्रधानमन्त्रीले फागुन ६ गते संसद्मा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने बताए।
‘फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो। उहाँले बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बोलेको बालकुमारीको घटना यदि हत्या हो भने हत्यारा आदेश दिन गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री र गोली हान्ने प्रहरीका डीएसपीलाई पक्राउ गरेर जेल किन नहालेको?,’ उनले भने।
उनले देश झन्झन् गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउँदै प्रधानमन्त्री र मन्त्रीहरुमा कुनै भिजन नभएको भन्दै राजीनामा दिएर घर बस्न सुझाव दिए। उनले संसदीय व्यवस्था असफल भएको भन्दै यसको बारेमा सोच्ने बेला भइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।