काठमाडौं– संघीय संसद् र प्रदेश सभाबीच नियमितजसो हुँदै आएको अनुभव आदान प्रदान कार्यक्रमको आठौं संस्करण सौराहामा सम्पन्न भएको छ। दुई दिने कार्यक्रम ११ सदस्यीय सौराहा घोषणापत्र जारी गर्दै सकिएको हो।
अबदेखिको कार्यक्रम “अन्तर–व्यवस्थापिका मञ्च, नेपाल” का नाममा हुने बताइएको छ। साथै यो मञ्च लुच फोरमका रुपमा रहनेछ। आगामी दिनमा मञ्चका भेला तथा कार्यक्रम लागत साझेदारीमा गर्ने प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रस्ताव पारित गरिएको छ।
सभामुख घिमिरेले फोरमलाई औपचारिक संयन्त्रको रुपमा विकास गर्ने, स्थायी रुपमा नै नामकरण गर्ने, बैठक वर्षमा दुई पटक गर्ने, आगामी बैठकको सम्भावित मिति र स्थान तोक्ने, फोरमका लागि संघ र प्रदेश तहमा बजेट व्यवस्थापन गर्ने कुरालाई छलफलको विषय बनाउने, संघ र प्रदेश सभाको सहभागिता रहने गरी स्थायी प्रकारको सचिवालय रहने व्यवस्था गर्ने र मञ्चको बैठक सम्बन्धी समन्वय संघीय संसद् सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने लगायतका प्रस्ताव राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।