काठमाडौं- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले पुरक प्रस्ताव पेश गरेका छन्। उनले २८ वटा बुँदामा आफ्ना पुरक प्रस्ताव राखेका हुन्।
पौडेलले आइन्दा पार्टीका कुनै पनि भातृ संघसंस्थामा कसैलाई पनि मनोनित गर्नु स्वतः अवैध हुने गरी विधान संशोधन गर्न महासमिति बैठकले पार्टीलाई निर्देश गर्ने प्रस्ताव राखेका छन्। ‘सबै भ्रातृसंस्थालाई निश्चित समय दिएर अनिवार्य रुपमा महाधिवेशनमार्फत् नयाँ नेतृत्व आफैं चयन गर्न पाउने र पार्टी नेतृत्वले भविष्यमा कहिल्यै हस्तक्षेप नगर्ने ग्यारेन्टी गर्न पार्टीलाई यो बैठक निर्देशन गर्दछ’, पौडेलको प्रस्तावमा उल्लेख छ।
उनले महासमिति बैठकले पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने गरी निर्देशन दिने प्रस्ताव पनि राखेका छन्। उनको प्रस्तावमा उल्लेख छ, ‘राज्यका कुनै पनि अङ्गलाई कुनै पनि छानबिनका लागि स्वआमन्त्रण गर्नेछन्। सबै तहका पदाधिकारी र सदस्य हुँदै पार्टीका साधारण सदस्यले समेत आर्थिक पारदर्शिताको जीवन बाँच्नेछन्। सम्पत्ति र स्रोतको स्वघोषणा गर्न नसक्ने सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था अब पार्टी विधानमै गर्न यो बैठक पार्टीलाई निर्देश गर्दछ।’
भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्वित हुने व्यवस्था गर्न बैठकले निर्देश गर्ने प्रस्ताव पनि पौडेलको छ। गैरकानुनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्य कांग्रेसले चिन्दैनचिन्ने व्यवस्था विधानमै हुनुपर्ने उनको प्रस्ताव छ। सफाइ पाएका हकमा भने पुरानै जिम्मेवारीमा पुनः बहालीको व्यवस्था हुने उनले प्रस्ताव राखेका छन्।
पार्टीमा आपतकालीन वा सङ्कटकालीन प्रावधानलाई सुविधाका रुपमा व्याख्या नगर्न पार्टी केन्द्रिय समितिलाई सचेत गराउँदै पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरमै सम्पन्न गर्न निर्देश गर्ने प्रस्ताव पनि पौडेलको छ।
'जनताले मतदान गर्ने निर्वाचनहरूमा नेपाली कांग्रेसले निर्वाचनपूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न यो महासमिति बैठक निर्देश गर्दछ। पार्टीलाई मतदान गर्न पाउनु सदस्य वा शुभेच्छुकको हक हो। त्यो हक खोस्ने अधिकार नेतृत्वलाई हुनसक्दैन। नेपाली कांग्रेस पार्टी आफ्नै सामर्थ्यमा उभिएर चुनावी मैदानमा होमिनेछ, प्रतिस्पर्धा गर्नेछ', प्रस्तावमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।