काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ–संस्थाको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको प्रष्ट पारेको छ।
हालै रुपन्देहीको एक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रास्वपाका उम्मेदवार विजयी भएको समाचार सार्वजनिक भएपछि सो पार्टीले विज्ञप्तिमार्फत् त्यसरी उम्मेदवार बन्ने नीति नरहेको प्रष्ट पारेको हो।
‘विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो’, रास्वपाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सामुदायिक संस्था स्थापना/सञ्चालनको उद्देश्य गैर–राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको पनि दाबी गरिएको छ। ‘त्यसैले ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौं’, विज्ञप्तिमा भनिएको छ, ‘जनहितका लागि गर्नुपर्ने काममा पनि भागबण्डा खोजेर जनतालाई सधैं राजनीतिक पार्टीको अधिनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।