काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गठबन्धनबाट पीडित बनेको टिप्पणी गरेका छन्। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनका कारण देशमा निराशा फैलिएको र विकास हुन नसकेको उनले उल्लेख गरेका छन्।
एमालेलाई समेत खुइल्याएर देशलाई समृद्धितर्फ लैजाने शक्ति कोही नभएको भ्रम परेर युवामा निराशा फैलिएको बताएका छन्। गठबन्धनको सरकार सवैतिर असफल हुँदा अहिले नयाँ दल र राजतन्त्रका पक्षधर जुर्मुराएको उनले बताए। उनले भने, 'जनताले फालेको राजतन्त्र ल्याएर आफ्नो दुनो सोझ्याउन केही मान्छे लागेका छन्। राजसंस्था आउँदैन अब, केहीले भोट बढाउन दुनो सोझ्याउने हुन्।'
यसैगरी केही नयाँ पार्टीको जन्मिएको बताउँदै त्यसको कारक पनि गठबन्धनको सरकारको असफलता रहेको औंल्याए। उनले थपे, 'यही गठबन्धनका कारण युवाहरुमा देशप्रति विकर्षण र वितृष्णा फैलिएको छ। अहिलेकै गठबन्धनले स्वतन्त्र पार्टीहरु भन्ने जन्मिए। यही गठबन्धनप्रति आएको वितृष्णाको कारण हो। सरकारको असफलताका कारणले हो। उनीहरुले सफल हुनेगरी कामै गर्न सकेनन्। उनीहरुको क्षमता नहुनु बुद्धि नहुनु अर्को कुरा हो। अरु गर्नेलाई पनि खुइल्याएको छ। त्यसले उनीहरुमा कोही छैन भन्ने परेको छ। जानीबुझीकन गरेको अपराध हो।'
उनले देशका लागि गर्ने एमाले रहेको बताए। त्यसलाई पनि नियोजित रुपमा खुइल्याउँदा समस्या सिर्जना भएको बताए। 'अरु नभएपनि यो देशमा एमाले त थियो नि। यिनीहरु (गठबन्धन)ले नसके पनि एमालेले सक्छ भन्ने आमजनमा हुन्थ्यो नि। एमालेलाई खुइल्याएर त्यहाँ पनि निराशा थप्ने काम भयो,' ओलीले थपे।
एमालेका बिरुद्ध जालीझेली फरेवी चलाएको उनले बताए।
गिरिबन्धु टी स्टेटका विषयमा चलाइएको हल्ला त्यसैको एउटा उदाहरण रहेको उनले बताए। 'अदालतले एउटा फैसला गर्योन। त्यसलाई लिएर एमालेलाई लखेट्न च्यानल नै खुले कतिवटा। सरकारले गरेका सबै फैसला अदालतलाई चित्त नबुझ्न सक्छन्। कतिपय कुरा नबुझिएको हुन सक्छ। कार्यान्वयन नगर्ने भनियो, यही त थियो,' उनले भने।
फैसलाको चौथो नम्बरमा बुँदामा केही कुरा मिलाएर पूरा गर्ने भनिएको बताउँदै निर्णय परिपक्व नभएको टिप्पणी अदालतको रहेको बताए। त्यसलाई खुब लखेटिएको उनको भनाइ छ। उनले प्रश्न गरे, 'त्यसअघि कांग्रेस सरकारले ५१ बिघा जमिन सोझै निर्णय गरेर यत्तिकै घडेरीमा बेचबिखन गर्न दिएको छ। त्यो भ्रष्टाचार हो कि होइन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।