फाइल फोटो
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेको बताएका छन्। पार्टीको जारी महासमिति बैठकमा नीति प्रस्ताव पेश गर्दै उनले सो तर्क गरेका हुन्।
'भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्', उनले भने।
निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद भएको भन्दै उनले अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र विरोधी नै भएको तर्क गरे।
'उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी', खड्काको नीति प्रस्तावमा उल्लेख छ।
खड्काले लोकरिझ्याइँ प्रवृत्तिको पनि आलोचना गरेका छन्। 'त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन। न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य', उनको प्रस्तावमा उल्लेख छ, 'न त लोकतन्त्र प्रतिको प्रतिबद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै। यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।