काठमाडौं- नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आइतबारदेखि घोडाघोडी नगरपालिकाको सुख्खडमा सुरु हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने अधिवेशनले एमाले कैलाली जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ।
एमाले कैलालीले अधिवेशन सुरु हुनुअगावै अध्यक्ष सहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई इच्छापत्र पेस गर्न भनेको थियो।
सोही अनुसार पार्टीका पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले इच्छापत्र बुझाएका छन्।
अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितका तीन जनाले इच्छापत्र पेस गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन्।
पदाधिकारीमा इच्छापत्र पेस गरेका नेताहरुबीच सहमतिको प्रयास भइरहे पनि अहिलेसम्म कुनै पदमा पनि सहमति भने नभएको बताइएको छ।
अधिवेशन उद्घाटनपछि समेत आकांक्षीबीच सहमतिका लागि प्रयास गरिने तर सहमति नहुने अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने एमाले कैलालीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।