काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिनेगरी दोस्रो दिनको बैठक सकिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको क्रमशः नीतिगत, सांगठनिक र राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिनेगरी सकिएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले बैठकले महासमितिमा प्रस्ताव हुने प्रतिवेदनहरु उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रस्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रीय कार्यसमितिबाट आएका प्रस्तावलाई मिलाएर लैजाने गरी एकताबद्ध भएर सम्पन्न गरेको बताए।
उनले भने, ‘आज नेपाली कांग्रेसको महासमिति अघि बस्ने केन्द्रिय कार्यसमितिको बैठक दुई दिन बसेर आज अन्तिम चरणमा पुगेको छ । महासमितिमा प्रश्ताव हुने प्रतिवेदनहरु उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रस्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रीय कार्यसमितिबाट आएका प्रस्तावलाई मिलाएर लैजाने गरी एकताबद्ध भएर सम्पन्न गरेका छौं। कांग्रेस एकताबद्ध भएर महासमितिमा एउटै प्रस्ताव सबै साथीहरु प्रस्तुत हुनेगरी जानुभएको छ। महासमिति प्रस्ताव भोलिसम्म सबै सदस्यलाई दिनेगरी सकिएको छ।’
नेता खतिवडाले कांग्रेस एकताबद्ध भएर महासमिति बैठकमा प्रस्तुत हुने पनि बताए। उनले महासमिति प्रस्ताव शनिबारसम्म सबै महासमिति सदस्यहरुलाई दिनेगरी तयारी भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।