काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा आउने प्रस्तावले आम मानिसमा आशा सिर्जना गर्नुका साथै कांग्रेसप्रतिको भरोसा बढाउनुपर्ने बताएका छन्।
फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकका लागि आएका तीन वटै प्रस्तावले आममानिसलाई आशा सिर्जना गर्न नसक्ने देखिएको भन्दै यसमा सुधार हुनुपर्ने माग गरे।
प्रस्तावहरूमा समस्या बुझेको, समस्या बुझेको प्रतिबद्धता गरिएको तर समाधान के हो खुलाउन नसकेको पौडेलको भनाइ छ।
‘कतिपय मानिसहरू हाम्रो महासमितिले के निर्णय लिन्छ, के नीति लिन्छ भनेर हेरिरहेका छन्। ती नीतिका आधारमा कांग्रेसमा बस्ने वा नबस्ने उनीहरू निर्णय गर्नेवाला छन्,’ उनले भने, ‘नयाँ मानिस पार्टीमा आउने कि नआउने निर्णय लिने तयारीमा छन्। तर प्रस्तावले आममानिसलाई आशा दिन सक्ने देखिँदैन।’
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। ती प्रस्तावबारे सुझाव दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरूलाई पाँच मिनेट समय दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।