काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन्। केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने दावीसहित विशेष पूरक प्रस्ताव पेस गरेका हुन्।
केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा उक्त प्रस्ताव पेस भएको हो। प्रस्तावमा सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन्।
यसरी हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का र नागिना यादव छन्। यस्तै केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलाले पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन्।
यस्तै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा हस्ताक्षर गरेका छन्।
कांग्रेस जस्तो व्यापक जन आधारमूलक प्रजातान्त्रिक पार्टीले धार्मिक खन्भूत्ता नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरुको प्रस्तावमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।