काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम बुधबारका लागि सकिएको छ। विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ।
सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिए। उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिए।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए। उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्ट रुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे।
युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए। उनले पार्टी भित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गरे।
मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। भोलि सात समूहले सुझाव पेस गर्ने कार्यक्रम छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।