काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा विशेष अदालतले बिहीबार (भोलि) मात्र फैसला सुनाउने भएको छ। बुधबार आउने भनिएको फैसला लेख्दालेख्दै रात परेकोले भोलि मात्र सुनाउने तयारी अदालतले गरेको छ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ललिता निवास सरकारी जग्गा हिनामिना सम्बन्धी मुद्दाको फैसला बिहीबार सुनाउने तयारी रहेको बताए। उनले भने, ‘कलाधर देउजा समेत भएको (ललिता निवास) मुद्दा हेर्दाहेर्दैमा रहेकाले भोलि पेसी हुनेछ।’आज लेख्दालेख्दै रात परेका कारण भोलि फैसला सुनाउने तयारी रहेको उनले बताए।
यो मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार मात्र सुनुवाइ सकिएको थियो। सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने तयारी थियो।
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको हो। यी तीन न्यायाधीशको इजलासमा मात्रै यो मुद्दा निरन्तर २२ पटकसम्म हेर्दाहेदैमा रहेर गरिएको थियो।
एक महिना लामो समयसम्म बहस भए पनि अहिलेसम्म उक्त मुद्दाको किनारा विशेष अदालतले लगाउन सकेको थिएन। यसअघि उक्त मुद्दा विभिन्न न्यायाधीशको इजलासमा २० पटकसम्म पेसी चढिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।