काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिस्ट बनाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको आरोप उनको थियो।
बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश पोखे।
उनले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनोटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताए।
ओलीले भने, ‘प्रधानमन्त्रीजीले अस्ति नै २/४ पटक खोक्नुभो। गज्जवसँग खोक्नुभयो। उहाँले खोक्नु भयो– अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाइन्छ, दलीय आधारमा हुँदैन। अहिले सर्टलिस्ट बनाउँदा योग्य जतिलाई छाड्नुभएको छ। गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेकाहरु, नचाहिने काम गरेकाहरुलाई छान्नुभयो।’
ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरुलाई सेटिङका आधारमा सर्टलिस्टमा पारिएको भन्दै उनले गठबन्धनको पक्षमा हुनैपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेको प्रमाणित हुनुपर्ने जस्तो देखिएको आरोप समेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।