काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने तर्क गरे।
उनले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनुपर्नेमा जोड दिए। पीडितलाई मर्का पर्ने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनु नहुने उनको भनाइ थियो।
नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसद्बाट पास भए पनि अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने धारणा राखे।
उनले लोकतन्त्र नेताहरुको लागि मात्रै आएको भन्दै अझै पनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताए।
कोइरालाले भने, ‘हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुको लागि लोकतन्त्र आएको छ। तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन। लोकतन्त्रमा कानुनी शासन र मानव अधिकार भएन भने त यो लोकतन्त्र हुँदै भएन नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।