काठमाडौं- नेपाल राष्ट्र बैंकले व्यक्तिभन्दा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गर्ने बताएको छ। केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ।
यसअघि संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा २ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्नुपर्ने व्यवस्था थियो।
निक्षेपको ब्याजदर घट्दै जाँदा संस्थागत निक्षेपकर्ताले उक्त व्यवस्था अनुसार संस्थागत निक्षेपकर्ताको आम्दानी नै प्रभावित भएको भन्दै त्यसलाई परिमार्जन गर्न लबिङ गर्दै आएका थिए।
हाल व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने अवस्थामा अब भने १ प्रतिशत बिन्दु कम गर्दा हुने भएको छ।
यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ।
यसअघि यी क्षेत्रमा प्रवाह भएको १ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था थियो।
बैंकरले ३ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गर्न माग गरेका थिए। तर राष्ट्र बैंकले १ करोडको सीमाबाट बढाएर २ करोड पुर्याएको हो।
पूर्ण पाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।