काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छिन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्।
सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्। उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको निमित्त उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन्।
लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाइ थियो।
उनले भनिन्, ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन। त्यो कानुनसम्मत नै भएन। कार्यबहाकले त्यस्तो भन्न पाउँदैन। अहिलेका टियूको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियूको भीसी हुन लायक भएन। उसलाई अहिले नै हटाउनु पनि पर्यो।’
सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानुन सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।