काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य (सांसद) जितेन्द्रनारायण देवले देशको प्रमुख कार्यकारी व्यक्ति प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्थामा जानुपर्ने बताएका छन्। अहिलेको शासकीय स्वरुपले गठबन्धन गर्नुपरिररहेको र गठबन्धनले भ्रष्टाचार बढाएको देवको भनाइ छ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको उनको भनाइ छ।
पूर्व मन्त्री समेत रहेका देवले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए। उनले आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको बताए। व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै उनले सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताए।
उनले भने, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ। गठबन्धनले भ्रष्टार बढायो। एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ। त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो कि? जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्। आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ। अत्यन्त गम्भीर छ। संकटपूर्ण छ। हामी जस–जसले जुनजुन राजनीतिक शक्तिहरु मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवाद उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छौँ। ती सम्पूर्ण राजनीतिक शक्तिहरुका लागि एउटा ठूलो चुनौतीको पहाड अघि खडा छ। व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।