सप्तरी- सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्व प्रसादसिंह यादव शनिवार जनता समााजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
बोदेवर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी जसपामा औपचारिक रुपमा प्रवेश गरेका हुन्। सांसद यादवसँगै अन्य पार्टीका नेताहरू पनि जसपा प्रवेश गरेको सो पार्टीले जानकारी दिएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरेका थिए।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए।
यससँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ। यसअघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।