काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए। त्यस्तै, केन्दीरिय समिति १५१ सदस्यीय बनाउने गरी छलफल भएको पनि उनले जानकारी दिए।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए। त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभूत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उनले बताए।
शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राखेको सापकोटाले जानकारी दिए। बैठक शनिबार पनि पनि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।