धनगढी– नेकपा एमाले कैलालीको अधिवेशनका लागि वडाहरुमा प्रतिनिधि छनौट गर्ने काम भइरहेको छ। यही क्रममा पार्टीको सदस्य समेत नरहेकालाई सदस्यमा छनौट गरेको पाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बाट सदस्यमा जीवन चौधरीको नाम राखिएको छ। तर उनी भने अहिले आफू पार्टीको सदस्य नरहेको बताउँछन्। उनले भने, ‘मैले २०६८ सालदेखि सदस्यता नवीकरण गरेको छैन। अहिले राजनीतिबाट म टाढा छु। मलाई सदस्य बनाइएकोबारे जानकारी पाएँ। म कुनै राजनीतिमा छैन।’
जीवनमात्र नभइ नागरिक उन्मुक्ति पार्टीमा क्रियाशील भएका व्यक्तिहरुलाई पनि एमालेको सदस्य बनाइएको पाइएको छ।
नेकपा एमालेले दलित र आदीवासी क्लस्टरमा प्रति २५ जना बराबर १ जना प्रतिनिधि बनाउने निर्णयअनुसार कैलालीमा पार्टीका सदस्य नरहेको र अन्य पार्टीमा लागेका व्यक्तिहरुलाई सदस्य बनाइने काम भएको पाइएको छ।
‘कसैलाई प्रत्यक्ष उपस्थितिमा मात्र सदस्य बनाइन्छ, तर कसैलाई व्यक्ति प्रत्यक्ष नल्याइ निवेदनका आधारमा सदस्य बनाइन्छ। यो पार्टीभित्र गर्न खोजिएको के हो?’ एमाले कैलालीका १ जना नेता भन्छन्, ‘कसैलाई प्रतिनिधि समेत हुन नदिने गरी केही शीर्ष नेता र पार्टी कमिटीका केही व्यक्तिहरु लागिरहेका छन्।’
नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले पार्टी विधि र विधानअनुसार नै प्रतिनिधि छनौट कार्यमा लागिरहेको बताए। उनले भने, ‘जिल्ला कमिटीले गरेको निर्णयका आधारमा प्रतिनिधि छनौट कार्य भइरहेको छ। भोलि (शनिबार)सम्ममा प्रतिनिधिको टुङ्गो लाग्छ।’
नेकपा एमालेका प्रदेश सचिव रणबहादुर चन्दले पार्टीको सदस्य नरहेका व्यक्ति प्रतिनिधि हुन नपाउने बताए। उनले भने, ‘केन्द्रमा सदस्यता नम्बर हुन्छ। त्यस आधारमा पार्टीको सदस्य भएका व्यक्ति मात्र प्रतिनिधि हुन पाउने व्यवस्था छ।’
एमाले कैलाली जिल्ला कमिटीको नवौं अधिवेशन फागुन ६ र ७ गते हुँदैछ। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। एमाले कैलालीका इञ्चार्ज गणेश ठगुन्ना नवौं अधिवेशनले २०८४ को चुनावमा कैलाली जिल्लालाई एमाले किल्ला बनाउने गरेर सन्देश दिने दाबी गर्छन्।
एमाले कैलालीका कार्यवहाक अध्यक्ष जोशीले जिल्ला अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने बताए। उनका अनुसार थारु, दलित र महिलालाई धेरैभन्दा धेरै समट्ने गरी प्रतिनिधि छनोटको मापदण्ड बनाइएको छ।
पार्टीको जिल्ला कमिटी अध्यक्षका लागि अहिलेसम्म यज्ञराज ढुङ्गाना, दुर्गा प्रसाद जोशी, डेजी पाण्डे र ममता चौधरीको चर्चा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।