काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छोटो भाषण गर्ने नेतामध्ये पर्छन्। आफ्नो कुरा छोटोमा राखेर छिट्टै मन्तव्य टुंग्याउने देउवाको विशेषता छ।
तर, शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एउटा कार्यक्रममा आफ्नो भाषण गर्ने पालो आउँदासम्म कार्यक्रमका सहभागीहरु पातलिएपछि भने देउवाले आफ्नै पार्टीका नेताहरुप्रति आक्रोश पोखे। आफूभन्दा पहिले बोलेका नेताहरुले लामो भाषण गर्दा सहभागीहरु ‘दिक्क’ मानेर उठेर हिँडेको संकेत गर्दै देउवाले लामो भाषण गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा देउवा प्रमुख अतिथिको रुपमा सहभागी थिए। कार्यक्रमको अन्त्यतिर भाषण गर्न रोस्ट्रममा पुगेका उनले आफ्नो भाषण सुन्ने मानिसहरु कम भएको देखेपछि पूर्ववक्ता नेताहरुप्रति आक्रोश पोखे।
‘मान्छे बाँकी कोही छैन, के बोल्नु?’ देउवाले आफ्नो पीडा पोख्दै भने, ‘के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सुन्ने मान्छे पातलिँदै गएपछि भित्तालाई कुरा सुनाउनुपर्ने भन्दै दुखेसो पोखे। ‘कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। १ जना बसेको हुन्छ। अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो, माइक मैले दिएको हो भन्ने बेला छ,’ देउवाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।