काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै थापाले नयाँ दलहरु निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको आरोप लगाए।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने थापाको भनाइ छ।
विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम भइरहेको पनि थापाले उल्लेख गरे।
थापाले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन्। एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन्। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो। तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ। तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ। त्यो पुनरुत्थानवादी प्रवृति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ। योसँगै अर्को एउटा प्रवृति आएको छ, जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ। जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ, तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ। यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ। यसले गणेशमान मान्दैन, यसले बीपी कोइराला मान्दैन। यसले २०४६ सालको आन्दोलन मान्दैन। यसले ०६२ सालको आन्दोलन मान्दैन। यसले हाम्रो संघर्षको उपहास गर्दछ। यसले विधि, प्रक्रिया मान्दैन। म जादुगर हुँ भनेर आउँछ। यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ। संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने, यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो।’
महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए। उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए। महामन्त्री थापाले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।