काठमाडौं- दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको स्थलगत अनुगमन गरेका छन्। राष्ट्रिय सभाका दुई समितिका सदस्यहरुले बिहीबार निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो।
निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताए। उनले चैत १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भए पनि समय भित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको बताए।
पन्थले काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएको लगायतका समस्या देखिएको उल्ले गरे। उनले २०८१ का अधिवेशनहरु नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।
पन्थले भने, ‘संविधान जारी गरेपछि र संविधान सभा समेत बानेश्वरको आईसीसी भवनमा चलेको थियो। बाहिर राख्दा खर्च पनि धेरै नै थियो। त्यससँगै सरकारले सिंहदरबार भित्र नै संसद् भवन बनाउने कुरा राम्रो पनि हो। यो भवनलाई समयमा नै सम्पन्न गर्ने कुरामा अझै तोकिएको समयमा सकिने सम्भावना छैन।’
अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणधीन संसद् भवनको स्ट्रक्चरको काम सकिसकेको बताए। उनले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने जानकारी दिए।
उनले भने, ‘अहिले स्ट्रक्चरको काम सकिसकेको अवस्था छ। मुख्य संरचना भनेको प्रतिनिधि सभा र राष्ट्रिय सभा हो। त्यसको छानाको काम थियो, त्यो सकिसकेको छ। छाने छाउने काम थालिसकेका छौं। त्यो सकिएपछि हल भित्रको डेकोरेसनको काम सुरु हुन्छ। असार मसान्तसम्म इन्टेरियरको समायावधि दिएका छौं। आउँदो वर्षे अधिवेशनलाई लक्षित गरी काम अघि बढाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।