काठमाडौं- धनुषाका दिलिप महतोको मनसायपूर्वक हत्या गरेको धनुषा जिल्ला अदालतको ठहर उच्च अदालत जनकपुरले सदर गरेको छ। न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र धुव्रकुमार पियाको इजलासले दिलिपलाई मनसायपूर्वक हत्या गरिएको सदर गरेको हो।
दिलिल हत्या प्रकरणको मुद्दामा बुधबार अन्तिम सुनुवाइ गर्दै उच्चले जिल्लाको फैसला सदर गरेको हो। अदालत स्रोतका अनुसार विपिनकुमार महतो र मुनिन्द्र महतोलाई जन्मकैदको सजाय गरिएको छ। जितेन्द्रकुमार महतोलाई घटनाको मतियार ठहर गरिएको छ। मतियारलाई मुल सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ।
प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका छन्।
स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो। क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर विभत्स हत्या गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो। उक्त हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।
दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनिन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलिपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।