काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए।
देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख लिङ्देनले गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए। अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको समेत लिङ्देनले टिप्पणी गरे। कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै लिङ्देनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए।
लिङ्देनले भने– ‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ। त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडि बढ्न सक्दैन। अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारी सक्नुभएको अवस्था हो। त्यसैले म आग्रह गर्छु, परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन। अहिले जनताले के भन्छन्, लुटतन्त्र हो। केही सीमित राजनीतिक दल र ती सीमित राजनीतिक दलका पनि सीमित नेताहरुका मुठीमा देश कैद भयो। उनीहरुको लागि मात्रै भयो। त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन। देशलाई यही अवस्थामा राखिराख्न सकिँदैन। म भन्न चाहन्छु, सबै दलहरुको ध्यानाकर्षण गर्न चाहन्छु, केवल सरकारको मात्रै होइन, सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गर्न चाहन्छु। राप्रपाले पछाडि फर्किने कुरा गरेको होइन। तर अब देश यहीँ बसिराख्न पनि सक्दैन। अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्छ। कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो। हाम्रो अहम् तुष्टिको लागि देशलाई बन्धक नबनाऔँ। सबै मिलेर नयाँ सम्झौता गरेर नवीन बाटोमा देशलाई अगाडि लैजाऔँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।