काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सार्वजनिक जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन्। राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट दिन नहुने थापाको भनाइ छ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागु हुनुपर्ने बताए।
थापाले घटना र प्रकरण हेरेर आफ्ना निर्णय र मतहरु बनाउन नहुने बताए। जतिसुकै शक्तिशाली भए पनि कानुन उल्लंघन गर्ने व्यक्तिलाई कारबाही हुनुपर्ने थापाको भनाइ छ।
थापाले भने, ‘हामीले घटना हेरेर, प्रकरण हेरेर आफ्ना निर्णय र मतहरू बनाउनुहुँदैन। जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ? सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्। जतिसुकै शक्तिशाली होस्, कसैले पनि उन्मुक्ति पाउनु हुन्न। एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागु हुनुपर्छ। जुनसुकै अर्थमा पनि नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल विश्वासको वातावरण बनाउन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।