काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेयलाई नियुक्ति गर्ने निर्णय गरेका छन्। पाण्डेयलाई माघ २३ गते देखि लागू हुने गरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
‘प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका -१, पाल्पा जिल्लाका पदमप्रसाद पाण्डेयलाई माघ २३ गते देखि लागू हुने गरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।
पाण्डेयले आजै संघीय संसद्को सचिव पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।