काठमाडौं- शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतको 'बिल्डिङ एण्ड आर्किटेक्टस' समूहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रुपमा हेर्ने गरिन्छ।
यसअघि सहसचिव हुँदा शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए। यसअघि पनि गेलालको शहरी विकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भए पनि विभिन्न कारणले हुन सकेको थिएन।
यससँगै शहरी विकास मन्त्रालयका सचिव सरजुकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।