काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/०८१)को पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदनमा वैदेशिक मुद्राको सञ्चिति १८ प्रतिशतले वृद्धि भइ पुस मसान्तसम्म १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको देखिएको छ।
चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति चालू वर्षको असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो भने पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भइ १३ अर्ब ६९ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भइ १६ खर्ब २३ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भइ २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ। पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।