काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/०८१) को ६ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रस्फीति (मूल्यवृद्धि) ५.२६ प्रतिशत रहेको छ। नेपाल राष्ट्रबैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गर्दै मुद्रस्फीति ५.२६ प्रतिशत रहेको जनाएको छ। गत वर्षको सोही अवधिमा ७.२६ प्रतिशत रहेको थियो।
चालू वर्षको सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रस्फीति ५.७७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ।
यस अवधिमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ। मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कम हुँदै आइरहेको केन्द्रीय बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ। फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको छ।
केन्द्रीय बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ। मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।