रौतामाई– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले सेवा सुविधा पाउने कुरामा स्थानीय तहले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।
शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकिय उद्घाटनपछि बोल्दै उनले भवन सुविधा सम्पन्न भएसँगै जनताले पाउने सेवामासमेत महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।
उनले आगामी वर्षदेखि नेपाल सरकारले बजेट बनाउने तरिकासमेत बदल्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी जेठमा आउने आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरु संघीय सरकारले कार्यान्वयन नगर्ने निणर्य भई सकेकोसमेत बताए।
‘देश आर्थिक संकट देखा परे पनि अहिलेको अवस्थामा आर्थिक अवस्था सुधार हुँदै गएको छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिती, पर्यटक आउने र रेमिटेन्सको प्राप्तहुने दर बढेका छन्। घरजग्गा कारोबार विस्तारै लयमा फर्कँदै गरेको, बैंक ब्याजदर घट्दो भएकाले अर्थतन्त्रमासमेत सुधारको संकेत देखा परेको छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार शान्तिप्रक्रियाका केही कामहरु राजनैतिक दलहरुको सहमतिमा टुङ्गाइने बताए। उनले देशका युवाहरुलाई आर्थिक क्रियाकलापमा जोड दिने नीति अनुरुप विभिन्न योजनाहरु अघि बढाइएको छ।
सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिकाको समग्र सेवा प्रवाहमा सजिलो हुने गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले जानकारी दिए।
रौतामाई गाउँपालिका-२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले बताए।
प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय भर्याङ (लिफ्ट) जडान गरिएको छ। साढे दुई तले भवनमा एक सभाहल, न्यायिक समितिको ईजलास सहित २८ वटा कोठा रहेको छ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण भएको छ।
२०७७ असोजमा सुरु भएको भवन निर्धारित समयभित्र नै २०८० भदौमा रौताहा, धुलिखेल, सुसम आदित्य जेभीले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।