ललितपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए।
राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर उनले गरे। उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए। उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए।
उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक स्रोत साधनहरुलाई एकलौटी कब्जा गरेको आरोपसमेत लगाए।
अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे। उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।