काठमाडाै- संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुक्रबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
छलफलमा संसद् सचिवालयले आगामी अधिवेशनको कार्यतालिका प्रस्तुत गरेको छ भने प्रस्तावित कार्यतालिकाअनुसार संसद् सञ्चालन गर्न दलहरुले पनि सभामुख घिमिरेसँग आग्रह गरेका छन् ।
शुक्रबार साँझ सिंहदरबारमा बसेको सभामुख र प्रमुख सचेतक/सचेतकहरुको बैठकमा संसद्लाई कार्यतालिकाअनुसार सञ्चालन गर्ने र आगामी अधिवेशनबाट बढीभन्दा बढी कानूनहरु पारित गर्ने विषयमा सहमति जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
निश्चित क्यालेण्डर बनाउने, र त्यो क्यालेण्डर अनुसार अघि बढ्ने भन्ने कुरा भएको छ । सभाका बैठक पनि चलाउने र समितिका बैठकहरु पनि निरन्तर सञ्चालन हुने गरी अघि बढ्ने सहमति बनेको लेखकले बताए ।
उनले संसदीय सुनुवाई समितिको सभापति छिट्टै चयन हुने समेत दाबी गरे । 'सुनुवाई समितिको सभापति चयन हुन सकेको छैन, त्यसलाई चाँडै टुंग्याउने सल्लाह भएको छ । अरु एक दुई वटा संयुक्त समिति बनाउन बाँकी छ, त्यसलाई पनि चाँडै टुंग्याउने भन्ने कुरा भएको छ,' उनले भने, 'मुलत: क्यालेण्डर अनुसारनै बैठकको सञ्चालन गर्ने विषयमा बैठक केन्द्रीय भयो ।'
एमाले प्रमुख सचेतक पदम गिरीले संसद् बैठक, समिति बैठक र जिल्ला भ्रमणको समय व्यवस्थापन हुने गरी छलफल भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।