काठमाडौं– राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिले ४ वर्षदेखि विचाराधीन अध्यागमन विधेयकबारे सरकारको ध्यानाकर्षण गराएको छ। समितिको शुक्रबार बसेको बैठकले अध्यागमन विधेयक फिर्ता लिने कि अगाडि बढाउने भन्ने विषय टुंगो लगाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।
उक्त विधेयक २०७६ फागुन ८ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले दर्ता गराएका थिए। विधेयक त्यही दिन सांसदहरूलाई वितरण गरी सभामा फागुन १५ गते प्रस्तुत गरिएको थियो। त्यही वर्षको फागुन २९ गते सामान्य छलफल र चैत ३ गते दफावार छलफल भएको थियो। २०७९ असार ५ गते संसदीय समितिको प्रतिवेदनसमेत सदनमा पेस भइसकेको छ।
तर उक्त विधेयक अघि बढाउने वा फिर्ता लिने बारे सरकारले केही चासो नदिएको भन्दै राष्ट्रिय अर्को अधिवेशनमा निर्णय गर्न ध्यानाकर्षण गराएको हो।नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित एवं व्यवस्थित गर्ने तथा नेपाली नागरिकको विदेश प्रस्थान र विदेशबाट नेपालमा आगमनलाई व्यवस्थित गर्नेसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएको जनाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले यो विधेयक ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।