काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भयो। विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग कुराकानी भयो,’ओलीले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा। त्यसलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔँ भन्ने विषयमा छलफल भएको हो। टीआरसीको बारेमा एमालेको अडान यथावत् छ। राम्रो बनाएर सहमतिले पास गरे हुन्छ।’
एमाले अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत् रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।