काठमाडौं– निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।
परिसंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो। परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भए पनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए।
उनले उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत भएको उल्लेख गरे। उनले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताए।
उनले सरकारले चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताए। अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई पक्राउ गर्नु गलत भएको बताए। अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाए पनि धरपकड गर्न नहुने बताए।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए।
उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भएपनि सरकारले त्यो अवसर समेत नदिएको बताए। उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे। उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको बताए।
यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए। उनले निजी क्षेत्रलाई यसरी समस्यामा पार्ने हो भने निजी क्षेत्र हतोत्साहित हुने उल्लेख गरे। उनले व्यवसायीहरुलाई धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने बताए।
सरकारको यस्तो कदमले सबै निजी क्षेत्रलाई दुःखी तुल्याएको पनि उनको गुनासो छ। अध्यक्ष कार्कीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।
व्यवसायीहरुले चौधरी पक्राउ घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपादेयतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न आफूहरुलाई बाध्य बनाएको बताए। उनीहरुले सरकारले एकातिर ठूलो महत्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बर्साइरहने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने अवस्था सिर्जना भएको तर्क गरेका छन्।
व्यवसायीहरुले सरकारको यस्तो कदमले लगानीको वातावरण बिथोल्नेबाहेक काम नगरेको उल्लेख गरे। उनीहरुले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफूहरुको विमति नभएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।