काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो–आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताए।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएका छन्।
उनले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौं, यहाँको विकासको आशा नगर्नू जनता भन्न सक्नुपर्ने बताए। उनले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने उनको कटाक्ष थियो। उनले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताए।
उनले भने, ‘विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भन्ने छ। सार्वजनिक निकाय भन्नाले जनताको शेयर भएको पनि सार्वजनिक निकाय हो। जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्छ। जनतासँग शेयर उठाएपछि त हजारौं हजार जनताको शेयर भएको कम्पनी कसरी सार्वजनिक होइन। निजी हुन सक्दैन। निजी भए शेयर नउठाउनु। आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश कहिले विकास हुँदैन। कि हामीले निर्वाचनमै बोल्नुपर्छ, हामी जितेपछि काठमाडौं बस्नलाई हो, यहाँको विकासको आशा नगर्नु जनता हो भन्नुपर्छ।’
सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।