काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डको छानबिनका लागि आफूले नै आयोग बनाउनुपर्ने बताएको र आयोग बनेको बताएका छन्। बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वीरेन्द्र सैनिक अस्पतालको छलफलमा आफूले सो प्रस्ताव राखेको बताए।
'त्यो बेलामा गिरिजाप्रसाद कोइराला, तारानाथ रानाभाट, केशरजंग रायमाझी, मोहम्मद मोहसिन, म आफैं थिएँ। र, ज्ञानेन्द्र थिए। यति जनाको बीचमा वीरेन्द्र सैनिक अस्पतालमा बसेर भएको छलफलमा मैले छानबिन आयोग बन्नुपर्छ भनेको थिएँ', अध्यक्ष नेपालको भनाइ छ।
आफूलाई त्यस्तो प्रस्ताव राख्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेको बताए। भने, 'सबै कुराहरू मलाई गिरिजाबाबुले तपाईंले नै बोल्नुस् है, तपाईं धेरै कडा भन्न सक्नुहुन्छ, मिलाएर पनि भन्न सक्नुहुन्छ, सबै कुरा राख्न पनि सक्नुहुन्छ भनेर उहाँले मलाई भन्नुभएको थियो। त्यसैले मैले राखेको थिएँ।'
उनले त्यतिबेला छानबिनका लागि ज्ञानेन्द्र तयार नभएको बरु आफैंले छानबिन गर्ने भनेको तर आफूले त्यस्तो छानबिन आयोगलाई कसैले स्वीकार नगर्ने भनेको बताए।
पछि आयोग बन्दा आफूले सहमति नदिई आफ्ना नाम पनि राखिएको नेपालको भनाइ छ। उनले प्रतिपक्षी दलको नेताको रुपमा आफू आयोगमा बस्ने हो भने सत्ता पक्षका नेता गिरिजाबाबु पनि बस्नुपर्ने भन्ने प्रस्ताव राखेको बताए। उनले आफ्नै पार्टीका नेता भरतमोहन अधिकारीलाई राख्न पनि सुझाव दिएको पनि बताए।
आफैंलाई छानबिन आयोगमा राखेपछि आफूले राजीनामा दिएको उनले बताए। त्यसको कारण खुलाउँदै उनले भने, 'छानबिन गर्नका लागि स्वयं ज्ञानेन्द्रलाई सोध्नुपर्छ। ज्ञानेन्द्रको श्रीमतीलाई सोध्नुपर्छ। अनि सोध्न आउने भनेर ममाथि दागा धर्ने काम हुन्छ। सबै छानबिन गर्न सकिएन भने दोषको भागेदार हुनुपर्छ। अर्को पार्टीले त्यसको फाइदा उठाउँछ।'
त्यतिबेला प्रधानन्यायाधीश केशवशरण उपाध्याय, सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल रहेको आयोग बनाइएको भए पनि नेपालले आयोगमा बस्न अस्वीकार गरेपछि उपाध्याय र रानाभाट सम्मिलित आयोगले छानबिन गरेको थियो। 'त्यो आयोगले सबै कुरा ल्याउन सक्यो वा सकेन, त्यो आफ्नो ठाउँमा छ', नेपालले भने।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको पुनः छानबिन गर्नेतिर सरकार अघि बढेको बताएको प्रति अध्यक्ष नेपालले असन्तुष्टि जनाए। 'अहिले हाम्रो प्रधानमन्त्रीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुरामा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो', उनले भने, 'हामीसँग पनि सल्लाह भएको छैन। मसँगै सोधे त हुन्थ्यो नि। कमसेकम गिरिजाबाबुले मसँग सोध्ने गर्नुहुन्थ्यो। के गर्ने माधवबाबु भन्नुहुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।