काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेट गरेका छन्। राजदूत गोल्डबर्गरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए। ‘शान्तिको पक्षधर मुलुक नेपाल सधैं मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने।
हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे।
इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।