काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको भन्दै यस बीचमा सरकारले कतिपय इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू पनि अगाडि बढाएको बताएका छन्।
नेपाल टेलिभिजनको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत् अपराध कर्मको पर्दाफास गर्दै लगेको छ।’
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको पक्षमा बनाइएको कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत लाखौं श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था लगायतको चर्चा गरेका थिए।
उनले थपेका थिए, ‘राहदानी र सवारी चालक अनुमति पत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा नि:शुल्क शय्याहरूको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार, पाठ्यपुस्तकको उपलब्धतादेखि मलको आपूर्तिसम्म, सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका पहलकदमीका केही उदाहरण हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।