काठमाडौं– सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निस्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए।
उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए। उनले कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए।
उनले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताए। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन पश्चात गठबन्धन दलका नेताहरुको बैठक बस्यो। राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ। विश्लेषण भएको छ। कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ। अरु प्रदेशको बारेमा पनि छलफल भएको छ। कोशीमा अप्रत्याशित रिजल्ट आएको छ। यो गम्भीर छ। यसका बारेमा प्रारम्भिक छलफल भएको छ। गठबन्धन एकमुष्ठ छ, एकीकृत छ। गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन।’
प्रमुख सचेतक लेखकले कोशीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।