काठमाडौं- मन्त्री रेखा शर्मा अनुपस्थित भएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। मंगलबार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो।
बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद् नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराएका थिए।
समिति सभापतिलाई सांसद पन्तले संसद् नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गरेका थिए। उनले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चार मन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराए।
प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ। अन्य कार्यसूचि माथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।
- न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।