काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को दोस्रो बैठकले विधानका सम्बन्धमा विभिन्न निर्णयहरू गरेको छ। बैठक यही माघ १४ र १५ गते काठमाडौंमा बसेको थियो।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्य संख्या १९९ जनाको हुने निर्णय गरिएको छ। त्यस्तै, केन्द्रीय कमिटीका पदाधिकारीको संख्या १९ हुनेछ।
सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन/अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुनेछन्।
प्रदेश कमिटीको सदस्य संख्या ७५-९९ सम्म हुने निर्णय गरिएको छ। प्रदेश कमिटीका पदाधिकारीहरू सात जनाको हुनेछ। जसमा अध्यक्ष- १, उपाध्यक्ष- २, सचिव- १ र उपसचिव- ३ जनाको हुनेछ।
एक मात्र संघीय निर्वाचन क्षेत्रमा भएका जिल्ला कमिटीहरूको सदस्य संख्या ५५ हुनेछन्। एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जना थप गर्ने निर्णय गरिएको छ। जिल्ला कमिटीका पदाधिकारी संख्या पनि प्रदेश कमिटीकै ढाँचामा ७ जनाको हुनेछ।
वडा कमिटीको सदस्य संख्या बढीमा ३५ हुनेछ।
पार्टीमा उमेर हद नराख्ने निर्णय गरिएको छ। पार्टीका सबै कमिटीहरूमा समावेशिताको सिद्धान्त अनुसार युवाहरूको संख्या २० प्रतिशत रहनेछ। सबै कमिटीहरू समावेशी हुनेछन्।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।