काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताएका छन्।
सोमबार भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।
मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने उल्लेख गरे। प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको उनको भनाइ छ।
साथै उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएकोसमेत जानकारी दिए। मन्त्री साउदले अहिले आर्थिक चुनौती भोगिरहनुपरेको बताएका छन्।
आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई विस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने र अन्तर्राष्ट्रिय समुदायले नै प्रतिबद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।