काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ।
गत शुक्रबार विमानस्थलभित्र अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबीचको विवाद कुटाकुटमा परिणत भएको थियो। त्यसपछि ती प्रहरीलाई विमानस्थलबाट हटाइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई जानकारी दिएका हुन्।
संगठनका नेताहरुले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका थिए।
त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिएका छन्।
कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।