काठमाडौं– ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा दायर गरिएको भ्रष्टाचार मुद्दामा अन्तिम बहस जारी रहेको छ।
अघिल्लो सातादेखि सुरु भएको बहसमा हालसम्म ४० जना अभियुक्तका तर्फबाट बहस भएको छ। विशेष अदालतका अनुसार हालसम्म सरकारका तर्फबाट र केही अभियुक्तका तर्फबाट बहस सकिएको छ भने अन्यको बहस जारी रहेको छ। वुधबार नेपाली काग्रेसका नेता विजयकुमार गच्छादारकाे तर्फवाट वहस भएकाे थियाे । त्यसअघि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्नेतका तर्फबाट बहस भयो। तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयको सचिवको रुपमा उनले ललिता निवासको जग्गा व्यक्तिको बनाउने फाइलमा टिप्पणी उठाएका थिए। उनले उठाएको टिप्पणीलाई आफूले मन्त्रिपरिषद्मा मात्र लगेकाले आफूले कुनै नियत नराखेको बयान तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छादारले अदालतमा बयान दिएका छन्।
बस्नेतले अवकाश पाएलगत्तै अख्तियारमा नियुक्ति पाएका थिए। अख्तियारको प्रमुख आयुक्तसमेत भएका उनी यसअघि विशेषबाट पुर्पक्षका लागि थुनामा गएका थिए। विशेषले उनलाई प्रमुख अभियुक्तको रुपमा लिँदै धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो।
उनी कोरोनाको समयमा सर्वोच्चबाट धरौटीमा रिहा भएका थिए। बहसका क्रममा उनी निर्दोष रहेको दाबी प्रतिवादीका वकिलले गरेका छन्। सरकारी वकिलहरुले मुख्य अभियुक्तको रुपमा बस्नेतको नाममा बहस गरेका थिए।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली कांग्रेसका उप सभापतिसमेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनि मुख्य प्रतिवादी बनाएको थियो।
अख्तियारले दायर गरेको मुद्दा दर्ताको प्रक्रिया सकिएपछि विशेष अदालतले २०७६ माघमै प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो। अदालतको म्यादअनुसार प्रतिवादी (अभियुक्त)हरु उपस्थित भएकापछि विशेषले सुनुवाइ गर्दै सबैलाई धरौटीमा रिहा गरेको थियो। केही अभियुक्तहरु साधारण तारेखेमा पनि रिहा भएका थिए।
ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेहरु अभियुक्त बनाइएका थिए।
पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।