काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्त्वपूर्ण हुने बताएकी छन्।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज (आइतबार) काठमाडौंमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले यस्तो बताएकी हुन्।
नेपाल–चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको चर्चा गर्दै उपाध्यक्ष अर्यालले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका अघि बढाउनु पर्नेमा जोड दिइन्।
दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्चहरू बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताइन्।
सन् २०२६ सम्म नेपाललाई विकासशील देशको रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको चर्चा गर्दै उपाध्यक्ष अर्यालले त्यसका लागि छिमेकी देश चीनको सहयोग जरूरी रहेको बताइन्।
केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालको तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उनले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहोर्याइन्।
भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उनको भनाइ थियो।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदुत छन सोङले बोलेका थिए।
कार्यक्रममा नेपालका राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसका नेता शशांक कोइराला, नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङ, रास्वपाका शिशिर खनाल लगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।