काठमाडौं– सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताए।
आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्थाविरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए।
उनले गठबन्धन दलहरुले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए। अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए।
उनले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्यूनीकरण गर्नका लागि सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।