काठमाडौं– नेपाली कांग्रेसका नेता था सांसद डा शशांक कोइरालाले आफ्नो पार्टी चीनसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको कोइरालाको भनाइ छ।
आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।
चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै कोइरालाले नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए। उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए।
कोइरालाले भने, ‘नेपाल र चीन नजिकका मित्र हुन्। नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ। तपाईंहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ। नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो। नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ।’
नेता कोईरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।