मनहरी– संघीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्त्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए।
उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए। कोषमा हालसम्म ५१ अर्ब २९ करोड संकलन भएको उनले बताए।
सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो। कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए।
सङ्घीयतालाई सही ढङ्गबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र सङ्घीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे। उनले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढङ्गबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए।
सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गरे। सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्नेमा जोड दिए।
राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उनले भीमफेदी गाउँपालिकाको प्रशंसा गरे। नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गर्नुपर्ने बताए। सामाजिक सुरक्षा योजनाको स्थायित्व र निरन्तरताका लागि तीनै तहका सरकारको लगानी र श्रमिकको सहलगानी जरुरी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।